सारांश
  • सुनसरीको देवानगञ्ज घटनाप्रति नेपाल संघीय समाजवादी पार्टीले ध्यानाकर्षण जनाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार माग गरेको छ।
  • घटनाको सत्यतथ्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन र दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ।
  • धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न, उत्तेजनामा नआउन र अफवाहको पछि नलाग्न पार्टीले सबै नागरिकमा अपिल गरेको छ।

काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वगृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

पार्टीले घटनामा घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकका परिवारलाई सम्मानजनक क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क र प्रभावकारी रूपमा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

उच्चस्तरीय छानबिन आयोग गठनको माग

नेपाल संघीय समाजवादी पार्टीले घटनाको वास्तविकता सार्वजनिक गर्न उच्चस्तरीय, निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा घटनामा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्नेमा जोड दिइएको छ।

पार्टीले सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याउनु नै सामाजिक विश्वास कायम गर्ने प्रमुख आधार हुने उल्लेख गरेको छ।

धार्मिक तथा साम्प्रदायिक सद्भाव बिगार्ने गतिविधिप्रति चिन्ता

विज्ञप्तिमा देवानगञ्जको घटनालाई बहाना बनाएर कोशी प्रदेश, मधेश प्रदेशलगायत विभिन्न क्षेत्रमा विशेष धार्मिक समुदायलाई लक्षित गरी भएका कुटपिट, लुटपाट, आगजनी, धार्मिक स्थलमाथिको आक्रमण तथा सम्पत्तिमा क्षति पुर्‍याउने घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न तथा प्रत्येक नेपाली नागरिकको जीवन, सम्पत्ति, आस्था र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरिएको छ।

सामाजिक सद्भाव जोगाउन संयम अपनाउन आग्रह

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै पार्टीले धार्मिक तथा जातीय द्वन्द्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने चेतावनी दिएको छ।

विज्ञप्तिमा कुनै पनि समुदायविरुद्ध घृणा फैलाउने, हिंसा भड्काउने वा सामाजिक सद्भाव बिथोल्ने प्रयास कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारिएको छ। धार्मिक, जातीय तथा सांस्कृतिक विविधता नेपालको शक्ति भएकाले त्यसलाई कमजोर बनाउने कुनै पनि गतिविधि राष्ट्रहितविपरीत हुने पार्टीको धारणा रहेको छ।

कानुनी शासन र राष्ट्रिय एकतामा जोड

पार्टीले लोकतान्त्रिक गणतन्त्र, संविधान, कानुनी शासन तथा सामाजिक सद्भावको संरक्षणका लागि सबै नेपाली एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याएको छ।

साथै, घटनालाई लिएर अफवाहको पछि नलाग्न, उत्तेजनामा नआउन, संयम, धैर्य र विवेक अपनाउन तथा राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप सुदृढ बनाउन सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकलाई अपिल गरेको छ।

नेपाल संघीय समाजवादी पार्टीले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पीडितलाई शीघ्र न्याय दिलाउन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरेको छ।

युवा डाँगी
लेखक
युवा डाँगी

युवा डागी कोशीस्थित पत्रकार तथा रिभ्यु नेपालका संवाददाता हुन्। उनी समसामयिक विषयका विविध पक्षमा समाचार सम्प्रेषण गर्दै आएका छन्। उनीसँग सम्पर्क गर्नका लागि इमेल ठेगाना: info@reviewnepal.com